नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले महामन्त्री गगन थापालाई हतार नगर्न आग्रह गरेका छन्।
थापाले संसदीय दल नेता परिवर्तन गर्ने अभिव्यक्ति दिएकोतर्फ लक्षित गर्दै बिहीबारको केन्द्रीय समितिमा केसीले भने, ‘गगनजी पिलिज वेट।’
उनले कुनै व्यक्तिलाई संसदीय दल नेता र सभापति चाहियो भन्दैमा समय र परिस्थिति ख्याल नै नगरी अघि बढ्न नसकिने पनि बताएका थिए।
‘एउटा व्यक्ति विशेषलाई संसदीय दल नेता चाहियो भन्दैमा पार्टी सभापति चाहियो भन्दैमा समय र परिस्थितिलाई ख्याल नै नगरी बेमौसमी बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्न कि, त्यतातिर ध्यान जाओस्,’ महामन्त्री थापालाई लक्षित गर्दै केसीले भने।
उनले महामन्त्री थापाले केन्द्रीय समितिमा पेश गरेको वार्षिक कार्यतालिकामा पनि प्रश्न उठाए। ‘कार्यतालिकामा धेरै कुरा आउलान् रूख सिंगै बोकेर आउँछ कि भनेको, रूखबाट खसेका पात मात्रै टिपेर ल्याइएको छ,’ उनले व्यङ्ग्य गरे।
पदाधिकारी बैठकले कार्यसम्पादन र कार्यसम्पादनले केन्द्रीय समिति छायामा पारेको उनको गुनासो छ। उनले पार्टीका नेताहरूलाई विधि र विधानअनुसार चल्न पनि आग्रह गरेका छन्।