नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरूङले चितवनमा पार्टीको कामकाज गर्न गाह्रो हुँदै गइरहेको बताएका छन्।
नेकपा माओवादी केन्द्र हाबी हुँदा पार्टीले कामकाज गर्न गाह्रो भएको उनको गुनासो छ।
बिहीबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले भने, ‘अहिले गठबन्धनको सरकार छ। चितवनका कार्यालय प्रमुख सबै माओवादी छ। मेयर माओवादी, सिडिओ, एसपी, भूमि आयोग, क्यान्सर अस्पताल अध्यक्ष, सरकारी अस्पताल अध्यक्ष माओवादी छ। त्यतिमात्र नभएर गरिबसँग विश्वेश्वर कार्यक्रमको अध्यक्ष पनि माओवादी छ। अब भन्नुस् चितवनमा हामीले के गर्न सकिन्छ?’
उनले यसबारेमा गम्भीर हुन सभापति शेरबहादुर देउवालाई आग्रह गरे।
‘हाम्रो कुरा सुनुवाइ हुँदैन। म केन्द्रीय सदस्य छु, काम केही हुँदैन। वाइसिएल सदस्य जाँदा बरू काम हुन्छ,’ उनले गुनासो गरे।
भ्रष्टाचारमा जोडिएर पार्टीका नेताहरूको नाम आउने गरेको पनि उनले बताए। ‘त्यो समाचार सत्य हो कि के हो। कहीँ कुरा उठ्छ जवाफ दिन गाह्रो हुन्छ। सत्य हो कि के हो?,’ उनले भने।