उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन्।
बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन्।
‘अनुसन्धानलाई हामी गम्भिरतापूर्वक अगाडि बढाउँछौं। अनुसन्धानको बारेमा यो घटना घटेपनि, नघटेपनि जुन घटना हुन्छ। हाम्रो स्टयाण्डबाइ निर्देशन छ,’ उनले भने, ‘प्रधानमन्त्रीको पनि स्टयाण्डबाइ निर्देशन छ। जुनसुकै निकायले गर्नुपर्ने भएपनि, जुनसुकै घटना भएपनि निर्दोष नफसून।’
उनले थपे, ‘र घटनाक्रमको वा कुनै पनि परिघटनाको सन्दर्भमा अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्नेगरी होस्। र, दोषीलाई कानुनको दायरामा ल्याउने गरी होस् भन्ने हाम्रो स्टयाण्डबाइ निर्देशन छ। त्यसै आधारमा हुन्छ।’
यस्तै उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा पनि छलफल गरेको बताए।
अर्थ मन्त्रालयसँग समन्वय गरेर सो कामलाई अघि बढाउने गृहमन्त्री श्रेष्ठको भनाई थियो।
‘आगमन पछाडि प्रहरीको कुनै ठाउँमा भूमिका हुँदैन। त्यहाँ कष्टम क्लिअरेन्समा पनि हुँदैन। त्यसकारण हाम्रो छलफल पहिला देखिनै सुरू भएको थियो कि त्यहाँ कष्टममा पनि क्लियरेन्समा प्रहरीको भूमिका हुने गरी व्यवस्थापन गर्न उचित हुन्छ भनेर हामीले यस भन्दा अगाडिनै प्रस्ताव राखिराखेका छौं,’ उनले भने।