नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले सभापति र महामन्त्रीहरूलाई खुइल्याउने प्रतिस्पर्धा नै चलेको बताएका छन्।
शुक्रबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले कसैले सभापति शेरबहादुर देउवालाई त कसैले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खुइल्याउने प्रवृत्ति रहेको बताए।
‘अहिले हामी खुइल्याउने प्रतिस्पर्धामा छौं, सभापतिलाई खुइल्याउन पाए सबैभन्दा ठूलो कांग्रेस हुन पाइन्छ भनेझैं गरी खुइल्याउँछौं,’ उनले भने, ‘पदाधिकारी र महामन्त्रीलाई खुइल्याउन व्यस्त छौं। ए महामन्त्रीहरू तिमीहरू अर्काको आलोचना गरेर स्थापित हुने भनेर खुइल्याउन लागेका छौं।’
उनले पार्टीका सबै नेतालाई खुइल्याएर २०८४ को चुनावमा मुख्यसचिव र सचिवको नेतृत्वमा चुनाव लड्न जाने हो भन्ने प्रश्न पनि गरेका छन्।
उनले पार्टीभित्र रूपान्तरण आवश्यक भए पनि जिल्ला-जिल्लामा हुने रूपान्तरणका अभियान महाधिवेशन तयारीका लागि गरिएकोजस्तो देखिएको बताए।