नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले पेश गरेको प्रतिवेदन एनजीओको विसलिष्टजस्तो लागेको बताएकी छन्।
शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले महामन्त्रीले देश हाँक्ने प्रतिवेदन ल्याउन नसकेको बताइन्।
केन्द्रीय समितिमा गत साउन २ गते महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्ताव गरेका थिए। ती कार्ययोजनामा समेटिएका प्रस्तावका कार्यक्रमले दिने उपलब्धिबारे महामन्त्रीले प्रष्ट नखुलाएको पनि उनको भनाइ थियो।
‘नेपाली कांग्रेस भनेको नेपाल देशको एजेन्डा सेट गर्ने पार्टी हो। देश कता जाने? राजनीति कस्तो र समाज कस्तो हुने? अर्थतन्त्र कस्तो हुने इतिहास हेर्ने हो भने कांग्रेसले नै सेट गरेको छ,’ उनले भनिन्, ‘यसपालि महामन्त्रीको प्रतिवेदन दुरगामी र देश हाँक्नेजस्तो केही कुरा पनि मैले देखिनँ। म अचम्मित पनि भएँ।’
यो पनि: कांग्रेसमा गगनको प्रस्ताव- कन्क्लेभ, कन्सर्ट र लिटरेचर फेस्टिवल गरौं
उनले महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेजका रूपमा आउने आफूले सोचेको पनि बताइन्।
‘यो राजनीतिक दस्तावेजभन्दा पनि एउटा एनजीओको विसलिष्टजस्तो मलाई लाग्यो, धेरै कार्यक्रम गर्ने, उपलब्धि के हो प्रष्ट भएन,’ आरजुले भनिन्।
उनले पार्टीले सुशासनमा ध्यान दिनुपर्ने पनि बताइन्। मन्त्रीहरूले बुझेर काम नगरेको उनको आरोप थियो। ‘हाम्रो घोषणा पत्रसँग मिल्ने गरी काम गर्नुपर्यो,’ उनले भनिन्, ‘अनि पो हाम्रो भोट बढ्छ।’
वडामा क्रियाशील सदस्यभन्दा पनि कम भोट आउने गरेको उनले बताइन्। ‘भोट नदिनेलाई क्रियाशील बनाएर के काम?,’ उनले भनिन्, ‘अरूले सदस्यता दियो भन्दैमा हामीले किन दिने?’
उनले नेताका बारेमा सार्वजनिक स्थानमा आलोचना गर्न छाड्नुपर्ने बताइन्। उनले महिलाका लागि एक तिहाइ सिट छुट्टाएर प्रत्यक्ष चुनाव लड्ने व्यवस्था गरिनुपर्ने बताइन्।
भिडिओ: