नेपाली कांग्रेसका प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले पार्टी अलमलमा रहेको बताएका छन्।
उनले पार्टी अलमलमा हुँदा अप्ठेरोमा परेको पनि बताए।
‘पार्टी अलमलमा छ,’ शुक्रबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले भने, ‘हामीलाई खतरा अरूबाट होइन, आफैंभित्रबाट छ।’
उनले नयाँ पार्टीहरूबाट पनि कांग्रेसलाई खतरा नभएको बताए। ‘हाम्रै आन्तरिक कलह सबैभन्दा ठूलो खतरा हो,’ उनले भने।
भ्रष्टाचारका विषय उठ्ने गरेको भन्दै उनले कोही नेतालाई अभियोग लाग्दैमा दोषी करार गर्न नमिल्ने बताए।
‘कांग्रेस भनेको एउटा घर हो, परिवार हो। घरको सदस्यलाई लान्छना लाग्दा छिटो पक्राउ गर भन्दै गृहमन्त्रीकहाँ जाने?,’ उनले प्रश्न गरे, ‘परिवारको सदस्य अभियोगमा मुछिएमा वकिल राख्छौं कि थानामा लगेर बुझाउँछौं?’
उनले कांग्रेस सर्वोच्च अदालत नभएको पनि बताए। ‘कांग्रेस सर्वोच्च अदालत हो? ठहर गर्नलाई?,’ उनले भने, ‘अहिले एक जनालाई अभियोग लागेको छ। वडासम्म लाग्दा कांग्रेसको अवस्था के हुन्छ?’
उनले अभियोग लागेका पार्टीका व्यक्ति जोगाउन अरू पार्टी लागिरहेको तर कांग्रेसले भने केन्द्रीय समितिमा छलफल गर्नुपर्ने बताइरहेको उनको भनाइ थियो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोग लागेका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण कारागारमा छन्। उनलाई निलम्बन गर्न केही केन्द्रीय सदस्यले माग गरिरहेका छन्।
तर प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले भने सर्वोच्च अदालतजस्तो गरी ठहर गर्दै अहिले नै निलम्बन गर्न नहुने बताइरहेका छन्।