नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र गुटबन्दी चरम रहेको बताएका छन्।
आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले भने, ‘पार्टीभित्र गुटबन्दी चरम देखिएको छ। एक गुटले अर्को गुटको नेतालाई दुश्मनजस्तो व्यवहार गर्छन्।’
उनले अन्तर्घात गर्नेलाई कडा अनुशासन कारबाही गरिनुपर्ने बताए। आफू प्रदेश सभा चुनाव लड्न हराउन खोजे पनि मेयर हुँदाका बेला गरेको कामले गर्दा जनताको मत जित्न सफल भएको उनको भनाइ छ।
उनले पार्टीका शीर्ष नेताको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने पनि बताए। ‘सम्पत्ति विवरण पार्टीमा बुझाउने अभियान सञ्चालन गर्नुपर्छ,’ उनले भने।
केन्द्रीय नेता पनि महाधिवेशनअघि वडाबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै समावेश गर्न उनले माग गरे।
कांग्रेस प्रदेश र केन्द्रमा सरकारमा भए पनि सुशासनको प्रत्याभूति नभएको उनले बताए। ‘जनउत्तरदायी काम गर्न ढिला गर्न हुन्न,’ उनले भने।