नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पुष्पलाल श्रेष्ठ राष्ट्रिय विभूति भएको बताएका छन्।
नेकपाका संस्थापक पुष्पलालको ४५ औं स्मृति दिवस मनाउन उनी जन्मिएको थलो रामेछापको भँगेरी पुगेका महासचिव पोखरेलले पुष्पलाल कम्युनिस्टको मात्र नभइ सबैको साझा नेता भएको बताएका हुन्।
महासचिव पोखरेलले साउन ६ गते बिपी स्मृति दिवस र ७ गते पुष्पलाल स्मृति दिवस भएको भन्दै दुवै नेताको आआफ्ना विषेशता रहेको पनि बताए।
‘बिपीले पञ्चायतका विरूद्ध एक्लाएक्लै लड्ने भन्नुभयो। तर, पुषपलाललले संयुक्त जनान्दोलनको नीति लिनुभयो। त्यो नीति उहाँको जीवनकालमा त पूरा भएन। तर, पुष्पलालको सपना मदन भण्डारीले पूरा गर्नुभयो। पुष्पलालको नीति अनुसार नै नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई जनआन्दोलनको सर्वोच्च कमान्डर बनाएर लड्दा २०४६ सालको जनआन्दोन सफल भयो,’ उनले भने।
पोखरेलले राष्ट्रिय विभूति कुनै पार्टीका नहुने भन्दै रामेछापलाई जीवन्त नगरपालिका बनाउन र भँगेरीलाई राजनीतिक पर्यटनको रूपमा विकास गर्न पनि सबै दलको सहयोग आवश्यक हुने औंल्याए।
‘रामेछाप नगरपालिका अहिले कांग्रेसले जितेको छ। मैले मेयर लवश्री न्यौपानेसँग आजै भेटेर यहाँको विकासमा सकारात्मक भूमिका खेल्न आग्रह गरेको छु,’ पोखरेलले भने, ‘उहाँले पनि सकारात्मक रूपमा लिनुभएको छ। समग्र नगर र जिल्लाको विकासका लागि पनि तीनलालको सम्मान हुनुपर्छ। यतिबेला दुई खाले आर्थिक संकटबाट मुलुक अघि बढि रहेको छ। मुलुकबाट नीतिगत विचलनको अन्त्य गर्न र वैदेशिक हस्तक्षेप रोक्न बलियो राष्ट्रिय शक्ति चाहिन्छ।’
पोखरेलले रामेछाप तीन लालको जिल्ला भएकाले पनि विशेष महत्त्व रहेको बताए। पुष्पलाल, गंगालाल र सुब्बा कृणलालको लोकतान्त्रिक आन्दोलनमा उल्लेख्य भूमिका रहेको उनको भनाइ थियो।
राजनीतिको माध्ययमबाट पुष्पलाल र गंगालाल अनि साहित्यको माध्यययमबाट कृष्णलालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको पोखरेलले बताए।
‘कृष्णलालले मकैको खेती लेखेवापत जेल पर्नुपर्यो र उहाँको जेलमै मृत्यु भयो,’ पोखरेलले भने, ‘टंकप्रसाद आचार्यको नेतृत्वमा प्रजापरिषद् गठन हुँदा त्यतिबेला नै लोकतान्त्रिक आन्दोलनमा लाग्नुभएका गंगालालले पहिलो पटक सबै भन्दा ठूलो सभा गरेर तत्कालीन शासकको विरूद्धमा बुलन्द आवाज उठाउँदा उहाँलाई १९९७ सालमा मृत्युदण्ड दिइयो।’