नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आइतबार केन्द्रीय सदस्य शशांक कोइरालाले पनि धारणा राखे।
उनले महिलाहरूलाई नेतृत्व तहमा पुर्याउन पार्टीले सहयोग गर्नुपर्ने बताए।
संगठनमा महिलाहरूले गरेको योगदान र सहयोगले नै आफू लगातार चार पटक चुनाव जितेको शशांकको भनाइ थियो।
‘महिलाहरूलाई प्रोत्साहन गर्नुपर्यो। केन्द्रीय समितिमा पनि धेरै जना हुनुहुन्न,’ उनले भने, ‘हरेक ठाउँमा महिलाहरूलाई अगाडि बढाउनुपर्यो। मेरो क्षेत्रमा हेर्नुस् नेपालमा कति जनाले चार पटक जिते? मेरो विचारमा एक जना शेरबहादुर देउवा हो। अरू कोही छन्? दोस्रो म हो। लगातार जितेको भनेको। कारण महिलाहरूको सहयोग हो।’
महिलाहरूले परिवार मात्र नभई समाजको नेतृत्व गर्ने कोइरालाको भनाइ छ। ‘महिलाहरूको नेतृत्व गर्ने भूमिका छ, प्रोत्साहन गर्नुपर्छ,’ उनले भने।
कोइरालाले बोलेपछि सभापति शेरबहादुर देउवाले आफूले ७ पटक चुनाव जितेको जवाफ शशांकलाई दिएका थिए। ‘म सात पटक जितेको हुँ सात पटक। लगातार सात पटक चुनाव जितेको,’ देउवाले शशांकलाई भने।