राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले विद्युतीय व्यापार विधेयकमा राखिएको जेल सजायको प्रावधान झिक्न संशोधन दर्ता गराएकी छन्।
सरकारले ल्याएको विद्युतीय व्यापार विधेकयमा व्यवसायीले ६ वर्षसम्म कारोबारको डेटा नराखेमा, विद्युतीय प्लाटफर्ममा दर्ता भएको कागजात, ठेगाना, स्थायी लेखा नम्बर लगायतका विवरण नराखेमा तथा मध्यस्थ व्यवसायी (इ-कमर्स प्लाटफर्म)ले बिक्री गर्दाको वस्तुको वारेन्टी र ग्यारेन्टीको शर्त पालना नगरेमा दुई वर्षदेखि तीन वर्षसम्म कैद वा तीनदेखि पाँच लाखसम्म जरिवाना वा दुबै सजायको व्यवस्था छ।
सांसद राईले दर्ता गराएको संशोधनमा यस्तो सजाय हटाएर जरिवानामात्र राख्न प्रस्ताव गरिएको छ। राईले संशोधनमा जेल सजायको सट्टा दश हजारदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना राख्न प्रस्ताव गरेकी छिन्।
सरकारले ल्याएको विधेयकमा कानुनबमोजिम कुनै क्रेताले सामान फिर्ता गर्दा पैसा फिर्ता गर्न सहजीकरण नगरे मध्यस्थ व्यवसायीलाई जेलको प्रावधान छ। त्यस्तै समयमा डेलिभरी नगरेमा वा सेवाको हस्तान्तरण समयमा नभएमा पनि जेलको प्रावधान छ।
सांसद राईले विद्युतीय प्लाटफर्मको परिभाषामा सामाजिक सञ्जाललाई समेत समेट्न प्रस्ताव गरेकी छिन्। हालको विधेयक सामान बिक्रीका लागि सामाजिक सञ्जालको प्रयोगबारे मौन छ। राईले राखेको अर्को संशोधनमा अग्रिम भुक्तानीको व्यवस्था हटाउन प्रस्ताव गरिएको छ। सरकारले ल्याएको विधेयकमा अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्न अग्रिम भुक्तानी हुनुपर्ने व्यवस्था छ।
राष्ट्रिय सभामा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालसहित ९ सांसदले दर्ता गराएको संशोधनमा भने सामाजिक सञ्जालबाट गरिएको प्रचारलाई इ-कमर्स मान्न नहुने व्याख्या राख्न प्रस्ताव गरिएको छ। सांसद दाहाल लगायतले राखेको संशोधनमा विद्युतीय प्लाटफर्म सञ्चालन गर्ने व्यवसायीले आफू संलग्न भएको बिक्रेता फर्मको वस्तु तथा सेवाको कारोबार गर्न नपाउने व्यवस्था राख्न प्रस्ताव गरिएको छ।
त्यस्तै मध्यस्थ व्यवसायीहरूलाई अन्य कारोबार गर्न रोक्ने गरी दाहाल लगायतका सांसदले संशोधन दर्ता गराएका छन्।
‘मध्यस्थ व्यवसायमार्फत आएको मागलाई पूरा गर्ने बाहेकका अन्य कारोबार गर्न नपाइने’ व्यवस्था विधेयकमा राख्न उनीहरूले संशोधन राखिएका छन्।
हाल विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफलको क्रममा रहेको छ। राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक प्रतिनिधि सभामा आउनेछ। प्रतिनिधि सभाबाट पनि पारित भएपछि यसले कानुनी हैसियत प्राप्त गर्नेछ।