नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ सालभित्र पार्टीको १५ औं महाधिवेशन भइसक्नुपर्ने बताएका छन्।
कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको थियो। विधानअनुसार ४ वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्छ। तर यसअघि कांग्रेसले करिब ६ वर्षमा महाधिवेशन गरेको थियो।
महामन्त्री थापाले विधानअनुसार समयबद्ध महाधिवेशन हुनुपर्नेमा जोड दिए।
सोमबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री थापाले भने, ‘०८२ सालभित्र जसरी पनि महाधिवेशन भइसक्नुपर्छ।’ यसो भएमा ०८४ को आमचुनावभन्दा २ वर्षअघि नै महाधिवेशन हुने उनले बताए।
महाधिवेशनले गर्दा चुनाव प्रभावित हुने गरेको उल्लेख गर्दै उनले त्यसो हुन नदिन विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिए।
उनले साधारण सदस्यता अनलाइनबाट लिन सकिने बताए। सक्रिय सदस्यता पनि अनलाइनबाटै लिन सक्ने व्यवस्थाका लागि छलफल भइरहेको उनको भनाइ छ।