नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले संसदीय दल नेता बदल्न चाहेको बताएका छन्।
सोमबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले आफू दल नेता बदल्न लागिरहने बताए।
पार्टी नेतृत्व परिवर्तनको कुरा किन उठाएको भन्नेलाई जवाफ दिँदै थापाले भने, ‘मैले संसदीय दल नेता परिवर्तन गर्न खोजेको हुँ, सकिनँ। तर म अब पनि लागिरहन्छु।’
थापाले गत वर्ष पुस ६ मा भएको संसदीय दल नेता चुनावमा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे पनि पराजित भएका थिए।
संसदीय दल नेता फेर्न विधानअनुसार मिल्ने र आफू यस काममा लागिराख्ने पनि थापाको भनाइ छ।
‘संसदीय दल नेता फेर्न विधानअनुसार बकाइदा मिल्छ। तर सांसदको भोट पाउन गाह्रो छ भन्ने कुरा मलाई थाहा छ,’ उनले भने, ‘तर म प्रयास भने गरिरहन्छु। गाह्रो काम भनेर छाड्दिनँ।’
उनले दल नेता परिवर्तन गर्न आवश्यक रहेको बताए।
दलहरूमा ३०/३५ वर्षदेखि चार/पाँच जना नेताले म्युजिकल चियर खेलेजस्तो नेतृत्व गरिरहेको उनको भनाइ छ।
‘चार/पाँच जना नेताले नेतृत्वमा आलोपालो गरिराख्नुभएको छ। जनताले नयाँ खोजेका छन् त्यसका लागि मैले कोसिस गरेको हुँ,’ उनले भने, ‘अरू कोही नआएकोले म अघि बढेको हुँ।’
सभापति शेरबहादुर देउवाले केही समयभित्र अब म प्रधानमन्त्री बन्दिनँ को आउने हो आऊन् भन्न सक्ने थापाको भनाइ थियो।
‘म छैटौंपटक प्रधानमन्त्री बन्दिनँ, ल को आउने हो आओ भनेर सभापतिले नै भन्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भने।
दल नेता फेर्न कोसिस गर्दा कतिपयले पार्टी नै फुटाउन खोजेको आशंका गरेकोमा थापाले भने, ‘सभापतिलाई यसले दल नेता परिवर्तन गर्न खोजिरहेको छ भन्ने थाहा छ। तर उहाँका वरिपरि बस्नेलाई चिन्तित बनाएको छ।’
उनले आफूले दल नेता परिवर्तन गर्न चाहेको तर पार्टी फुटाउन नचाहेको बताएका छन्। ‘दल नेता परिवर्तन गर्न म लागिरहन्छु। अब किन लागिस् भनेर प्रश्न नसोध्नुहोला, जवाफ पाउनुभयो,’ उनले भने।
भिडिओ: