नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी सभापतिको आलोचना गर्ने गरेको बताए।
सोमबार केन्द्रीय समिति बैठकमा ३५ मिनेट बोलेका शर्माले आलोचना गर्दा सभापति देउवानिकट केहीले सभापतिलाई खुइल्याउन लागेको भन्दै विरोध गरेको बताए।
उनले भने, ‘सभापतिलाई महामन्त्रीले गाली गरे, खुइल्याउन लागे भन्ने धेरै साथीहरूबाट कुरा आएको छ। आलोचना र गालीबीच फरक छ साथी हो।’
सभापतिले विधानअनुसार केन्द्रीय समिति पूर्णता नदिएको, विभाग र भ्रातृ संस्था नबनाएकोमा आफूहरूले आलोचना गरेको पनि उनले बताए।
‘आलोचना गर्दा सभापति देउवा रिसाउनुहुन्न तर साथीहरू सभापतिलाई गाली ग¥यो भन्नुहुन्छ,’ उनले भने। उनले पार्टीबाट मन्त्रीहरू पठाउँदा पनि दलित, थारूलगायत समुदायको प्रतिनिधित्व हुन नसकेको बताए।
उनले बदलिएको र बलियो कांग्रेस भएर आगामी दिनमा आउने पनि बताए।
शर्माले अन्य दलबारे नबोल्न केन्द्रीय सदस्यहरूलाई नभनिएको पनि प्रष्टीकरण दिए।
केन्द्रीय सदस्य शेखर कोइरालाले केन्द्रीय समिति बैठक लाइभ भएको र महामन्त्रीले अन्य दलबारे नबोल्न भनेको केन्द्रीय समितिमै बताएका थिए।
कोइरालाले प्रश्न उठाएपछि सोमबारको केन्द्रीय समितिमा जवाफ दिँदै महामन्त्री शर्माले भने, ‘मैले चिट दिएको हुँ, तर त्यो चिटमा अन्य दलका बारेमा नबोल्नू भनेको छैन।’
केन्द्रीय सदस्यलाई दिएको चिट शर्माले केन्द्रीय समिति बैठकमै देखाएका थिए।
‘आवश्यकताअनुसार अन्य दलको पनि चर्चा हुन्छ,’ उनले भने।
त्यस्तै महामन्त्री शर्माले माग पूरा गर्न दबाब दिँदै कालोमोसो दल्नेजस्ता गतिविधि गर्नेलाई अब पार्टीले कडा कारबाही गर्ने बताएका छन्।
शर्माले मर्यादित ढंगले माग राख्न आग्रह गरे।
‘भ्रातृ संस्थाहरूले मर्यादित भएर माग राख्नुपर्छ,’ उनले भने, ‘कालोमोसो दल्नेजस्ता क्रियाकलाप हुन्छ भने तत्काल सदस्यता खारेजी हुन्छ, थप कारबाही गरिन्छ।’
हेर्नुहोस् भिडिओः