नेकपा (एमाले) संसदीय दलको बैठक जारी छ।
संघीय संसद् भवनको ल्होत्से हलमा केही बेरअघि संसदीय दलको बैठक सुरू भएको हो।
आजको संसद् बैठकमा एमालेले उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेको छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई बोलाइएको थियो। यद्यपि अहिलेसम्म बैठक सुरू भएको छैन।
त्यहीबारे छलफल गर्न र सुन काण्डबारे धारणा तय गर्न संसदीय दलको बैठक बसेको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
‘सुन प्रकरणमा हामीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने तयारी गरेका छौं, यस प्रकरणमा उहाँको कमजोरी देखिएको छ।’
सोमबार राति कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका थिए। सुन काण्डमा गृहमन्त्रीले आफ्नो संलग्नता रहे, नरहेको प्रष्ट पार्नुपर्ने भन्दै एमालेले त्यत्तिकै नछाड्ने बताएका थिए।
तस्बिरहरू: निशा भण्डारी



















