विवेकशील साझा पार्टीले छैटौं स्थापना दिवसको अवसर पारेर पार्टीको राजनीतिक दस्तावेज र वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ।
पार्टी मुख्यालय ललितपुर, बखुण्डोलमा बिहीबार आयोजित समारोहमा अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र विमला अधिकारी, महासचिव रन्जु दर्शना, सचिवद्वय विमल तामाङ र समुन्द्र केसी, कोषाध्यक्ष दामोदर नेपाल र प्रवक्ता आशुतोष प्रधानले राजनीतिक दस्तावेज र वार्षिक कार्ययोजना संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
समारोहमा पार्टी जीवनका विभिन्न कालखण्डमा योगदान गरेका अगुवाहरूलाई कृतज्ञता-पत्र प्रदान गरिएको थियो।
त्यस्तै पार्टीका दिवंगत संस्थापक नेताहरू उज्वल थापा, रमेश महर्जन, प्रेम आचार्य, कृष्णा ताम्राकार र अरूण शाक्यलाई विशेष स्मरण गरिएको थियो।
वार्षिकोत्सवको उपलक्ष्यमा पार्टीले आगामी शनिबार वृक्षरोपण र रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ।