आउँदो १७ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ।
बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने महासचिव देव गुरुङले जानकारी दिए।
केन्द्रीय कमिटी बैठकमा माओवादीले राजनीतिक परिस्थिति, सांगठनिक संरचना र नेताहरूको कार्यविभाजनबारे छलफल गर्ने तयारी गरेको छ।
त्यसका लागि राजनीतिक प्रतिवेदनको मस्यौदा बनाउने जिम्मेवारी उपाध्यक्षाहरू र सांगठनिक प्रतिवेदन बनाउने जिम्मेवारी उपमहासचिवहरूलाई दिएको छ।
उपाध्यक्ष तथा उपमहासचिवहरूले तयार पारेको मस्यौदामा पदाधिकारी बैठकमा छलफल गरेपछि माओवादीले भोलि या पर्सिमा स्थायी कमिटी बैठक बोलाउने र बैठकबाट पारित भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गर्ने महासचिव गुरुङले बताए।
माओवादीले केन्द्रीय कमिटीको यही बैठकबाट पार्टीको विशेष महाधिवेशनको मिति तोक्ने जनाएको छ।