प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदीय समितिले पूर्णता नपाए अब बस्ने बैठकमा एमालेबाट कुनैपनि सांसद उपस्थित नहुने बताएका छन्।
सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकमा भट्टराईले संसदीय समितिले पूर्णता नपाए आगामी बैठकमा प्रतिपक्षी दलका सांसदहरू उपस्थित नुहुने चेतावनी दिएका हुन्।
उनले सत्तारूढ गठबन्धनका कारण संसदीय समितिहरूले अहिलेसम्म पूर्णता पाउन नसकेको र त्यसले निम्तिएको समस्याको भारी एमालेले नबोक्ने बताए।
‘संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए सम्भवत हामी समितिका यसपछिका कुनै पनि बैठकमा उपस्थित हुँदैनौँ । सभापतिलाई यसबारे अग्रिम जानकारी गराउन चाहन्छौँ,’ उनले भने।
उनले संसदीय समितिहरूमा एमालेले भागबन्डा नखोजेको पनि बताए। लेखा समितिको सभापति प्रतिपक्षले नै पाउने अभ्यास रहँदै आएको उनले बताए।
‘गठबन्धनले यो पनि दिन चाहँदैन भने हामीलाई चाहिँदैन । तर संसदीय प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ,’ उनले भने। समितिले काम सुरु गरेको तीन महिनासम्म पनि सभापति चयन हुन नसक्नु राम्रो नभएको उनको भनाइ छ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि संसदीय समितिहरुले चाँडो पूर्णता पाउनुपर्ने बताए। ज्येष्ठ सदस्यका रुपमा समितिको सभापतित्व गरिरहेका अर्जुननरसिंह केसीले यस विषयमा समितिको गम्भीर ध्यानाकर्षण भएको बताए।
समितिको आजको बैठकले सार्वजनिक लेखा समिति सञ्चालन कार्यविधि, २०८० पारित गरेको छ ।
उक्त कार्यविधिको मस्यौदामाथिको छलफल पनि समितिको आजको बैठकमा चलेको थियो । कार्यविधि मस्यौदा तयार पार्नका लागि समिति सदस्य राजन केसी संयोजकत्वमा एक उपसमितिले बनाइएको छ।