कर्णाली प्रदेश सभामा विद्युतसम्बन्धी विधेयक टेबुल गरिएको छ।
मंगलबार बसेको दोस्रो अधिवेशनअन्तर्गत २८ औं बैठकमा कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबुल गरिएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट मन्त्री कृष्णबहादुर जिसीले प्रदेश सभा नियमावली, २०७९ को नियम १११ (३) बमोजिम संसदमा विधेयक टेबुल गरेका हुन्।
प्रदेशस्तरमा उपलब्ध जलस्रोतको अधिकतम् प्रयोग गर्दै प्रदेशका नागरिकलाई गुणस्तरीय तथा भरपर्दो विद्युत सेवा उपलब्ध गराउनका लागि कानुन निर्माण गर्ने उद्देश्यका साथ उक्त विधेयक ल्याइएको मन्त्री जिसीले भने।
‘प्रदेश स्तरमा उपलब्ध जलस्रोत लगायत नवीकरणीय तथा अन्य उर्जाका स्रोतहरूको दीगो रूपमा अधिकतम् र उचित परिचालनका माध्यमबाट विद्युत उत्पादन, प्रसारण र वितरणलाई प्रवर्द्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभ रूपमा विद्युत सेवा उपलब्ध गराउनका लागि कानुनी व्यवस्था गर्न आवश्यक भएकाले यो विधेयक ल्याइएको छ,’ उनले भने।