विवेकशील साझा पार्टीले साँस्कृतिक मानचित्र उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरेको छ।
विवेकशील साझाले प्रकाशन गरेको 'ऐतिहासिक नेपालको साँस्कृतिक मानचित्र' उपराष्ट्रपति यादवलाई मंगलबार हस्तान्तरण गरिएको हो।
विवेकशील साझाले नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन उक्त मानचित्र प्रकाशन गरेको थियो।
पार्टी अध्यक्ष समीक्षा बास्कोटा,उपाध्यक्ष प्रकाशचन्द्र परियार,महासचिव रञ्जु दर्शना, प्रवक्ता आशुतोष प्रधान र केन्द्रीय सदस्य नवराज थापासहित टोलीले उपराष्ट्रपति यादवलाई मानचित्र हस्तान्तरण गरेका हुन्।
‘एशिया प्राचीन राष्ट्र नेपालको सुगौली सन्धी अगाडिको भू-भाग र वर्तमान भू-भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि बौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेबिहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन्,’ प्रवक्ता आशुतोष प्रधानले निकालेको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान चलाएको उनको भनाइ छ।