नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले 'टक सेन्टर' पुगे मंगलबार पार्टीका नेता तथा कार्यकर्ताहरूसँग छलफल गरेका छन्।
समसामयिक राजनीतिक घटनाक्रमबारे 'टक सेन्टर'मा कुराकानी हुने गरेको छ।
सिटौलाले दृष्टिकोणसहित कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
‘विचार र दृष्टिकोणले कांग्रेस बाँचेको हो। शिक्षा, स्वास्थ्य, सञ्चारलगायत हरेक क्षेत्रमा दृष्टिकोणसहित कांग्रेस अघि बढ्नुपर्छ,’ उनले भने, ‘दृष्टिकोणसहित अघि बढ्न युवाहरू पनि सक्रिय भएर लाग्नुपर्छ।’
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बागमती प्रदेशका सांसद कुन्दनराज काफ्लेका अनुसार 'टक सेन्टर' मा पार्टीको आन्तरिक विषयबारे भने छलफल हुने गरेको छैन।
काफ्ले, बागलुङ सभापति जीत शेरचन र कोशी प्रदेश कांग्रेस महामन्त्री भूपेन्द्र राई मिलेर समसामयिक विषयमा छलफल गर्न 'टक सेन्टर' बनाएका छन्।
'टक सेन्टर' मा अहिलेसम्म ५ पटक छलफल भइसकेको काफ्लेले बताए। ‘यसअघि प्राध्यापकहरू, युवाहरूसँग पनि छलफल गरेका थियौं,’ उनले भने, ‘समय मिलाएर महिनामा दुई/तीन पटक छलफल गर्ने गरिएको छ।’