सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय:
- दीगो भूव्यवस्थापनमार्फत् लखनदेही नदी बेसिनका जलाधाकारहरूको पुनरूत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (GEF) बाट प्राप्त हुने १५,५५,५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने।
- मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।
- मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।