नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीमा २४ महिला थप गर्ने प्रस्ताव गरेका छन्।
प्रज्ञा भवन कमलादीमा आजदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको सांगठनिक प्रतिवेदनमा उक्त प्रस्ताव उल्लेख छ।
माओवादी केन्द्रमा हाल ३८५ केन्द्रीय सदस्य छन्। केन्द्रीय कमिटीमा २४ जना महिला थप गरी त्यसको आकार ४०९ सदस्यीय पुर्याउन प्रचण्डले प्रस्ताव गरेका हुन्।
यसअघि ०७८ पुसमा सम्पन्न पार्टीको नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्याउने निर्णय गरेको थियो। तर हालसम्म पनि उक्त निर्णय कार्यान्वयन भएको छैन।
निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यता छ।
त्यसका लागि २४ जना महिला थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदनमा गरेका हुन्।
उनको प्रस्ताव कार्यान्वयन हुन केन्द्रीय कमिटीबाट अनुमोदन हुनुपर्नेछ।