आफूलाई निवर्तमान मुख्यमन्त्रीका रूपमा स्वीकार नगरिएको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन्।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा केहीबेरअघि आयोजित शपथ ग्रहण समारोहमा आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन्।
शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको नजिकै हुने गरेको तर अहिले त्यसो नभएको भन्दै कार्कीले आपत्ति जनाएका छन्।
नयाँ मुख्यमन्त्रीको शपथपछि बधाई दिएर सिट छोड्ने प्रचलन भए पनि आफ्नो लागि सिट व्यवस्थापन नगरेकोले शपथ ग्रहण समारोहमा बस्नु उपयुक्त नलागेको भन्दै कार्की बाहिरिएका थिए।
कार्कीले आफू यसबीचमा कामचलाउ मुख्यमन्त्री रहेको दाबी गर्दै नयाँ मुख्यमन्त्रीको छेउमा सिट खोजेका थिए।
‘हिजोसम्म म नै मुख्यमन्त्री थिएँ, आजबाट निवर्तमान मुख्यमन्त्री भएको हुँ,’ कार्कीले भने, ‘तर उहाँ (प्रदेश प्रमुख) ले सिट राख्नुभएन, त्यसकारण मैले यहाँ बस्नु उपयुक्त ठानिनँ।’
प्रदेश प्रमुखको कार्यालयले कामचलाउबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएको भन्दै कुनै निर्णय नगरेकोले निवर्तमान मुख्यमन्त्रीको सिट राखेको थिएन।
प्रदेश प्रमुखले संविधानको सर्वोच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वोच्चको फैसलालाई समेत लत्याएको कार्कीले बताएका छन्।
सर्वोच्च अदालतले मुख्यमन्त्री थापाको अघिल्लो पटकको नियुक्ति बदर गरेपछि आफू नै मुख्यमन्त्री रहे पनि प्रदेश प्रमुखले अस्वीकार गरेको उनको गुनासो छ।
शपथ ग्रहण समारोहबाट बाहिरिएपछि कार्कीले सामाजिक सञ्जाल फेसबुकमा प्रदेश प्रमुखप्रति आक्रोश व्यक्त गरेका छन्।
कोशी प्रदेशमा अधिनायकवादको अभ्यास भएको र निर्लज्जताको पराकाष्ठा भएको उनले लेखका छन्। प्रदेश प्रमुखले स्वेच्छाचारिता देखाएको उनको गुनासो छ।