नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले ठूलो केन्द्रीय समिति बनाउँदैमा पार्टीको आकार ठूलो नहुने भन्दै त्यसलाई घटाउन सुझाव दिएका छन्।
प्रज्ञा भवन कमलादीमा जारी पार्टीको चौथो केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै तामाङले भद्दा कमिटीका कारण पार्टी कमजोर र भइरहेकै केन्द्रीय सदस्यहरू पनि हसबहादुर र छापबहादुर भएका बेला अरू सदस्य थप्दा झन् भद्रगोल हुने बताए।
उनले सबैका कमजोरीको समीक्षासहित सरकारको कामका कारण देश र जनतामा परेको सकारात्मक प्रभावलाई पुँजीकृत गर्ने गरी आधारभूत तहबाट विशेष महाधिवेशन सम्मको संगठनात्मक योजना बनाउन पनि नेतृत्वलाई सुझाव दिए।
‘हाम्रो पार्टी आदर्श र मूल्यमान्यताविहीन हुँदै गइरहेको छ’, उनले भने, ‘हाम्रो पार्टी डाइनामिक बनाउने कि डाइनोसर बनाउने त्यो अवस्थामा आइपुगेको छ।’
नेता तामाङले माओवादी पार्टीभित्र ठूलो कार्यनीति अलमल रहेको बताए।
‘समय बदलियो, सोच बदलियो, हामी पनि बदलिनु पर्छ बुझेका छौं तर बदलिन तयार छैनौं,’ नेता तामाङले भने, ‘जनयुद्धकालीन गीत गाएर, त्यही बेलाको चिन्तन चरित्र र कार्यशैलीले समाजवादको सेवा गर्दैन। त्यसका लागि समाजवादी नै चिन्तन, कार्यशैली, विशेषता र चरित्र बोकेको पार्टी पंक्ति चाहिन्छ।’
तामाङले भनेको पद पाए नेतृत्वको देवत्वकरण गर्ने र नपाए सत्तोसराप गर्ने प्रवृत्ति मौलाउँदै गएको बताए।
‘हिजो हामी भन्थ्यौं, बुर्जुवाहरूको तरिका भनेको फुटाऊँ र राज गर हो, समाजवादीहरूको जुटाऊँ र राज गर हो,’ उनले भने, ‘तर आज पार्टीले उही हिजो बुर्जुवा भनेकाहरूको तरिकाको अपनाइरहेको छ। दलालहरू दैनिक नेतृत्वलाई घेराबन्दी र प्रभावमा पार्ने, राजबन्दीका रूपमा जेल बसेकाहरू उपेक्षित जाली, फटाह, ठगीमा जेल गएकाहरू सम्मानित हुने हृदयविदारक अवस्था छ।’