उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन्।
सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा आज तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पारे।
‘राष्ट्रिय सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्रै आधार बनाइ बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्ष्यमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवम् मानवीय पक्ष लगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ। यी विषयवस्तुलाई पनि तालिममार्फत् तपाईंहरूले ग्रहण गर्नुहुनेमा विश्वास छ’, उनले भने।
विश्व परिवेशमा देखापरेका विभिन्न घटनाक्रमका कारण अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा आइरहेको परिवर्तन, सूचना एवम् प्रविधिको तीव्र गतिमा भइरहेको विकासक्रमका साथै राष्ट्रिय रूपमा राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको उनको भनाइ थियो।
उनले प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्यमान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने प्रयासरत रहेको उल्लेख गरे।
सो अवसरमा उपप्रधानमन्त्री खड्काले सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई स्रोत र साधनको व्यवस्था गरी सर्वोत्कृष्ट शिक्षालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै कलेजलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सन्दर्भमा रक्षा मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे।