परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न मुख्यमन्त्री पुस्करसिंह धामीलाई आग्रह गरेका छन्।
शनिबार उत्तराखण्डका मुख्यमन्त्री धामीलाई टेलिफोनमार्फत रूद्रप्रयागमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धार गरिदिन आग्रह गरेका हुन्।
बिहीबार रातिबाट परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोका कारण १९ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमध्ये अधिकांश नेपाली रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग शनिबार बिहानैदेखि बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी र अन्य निकायहरू खटाइएको बताएका थिए।
मौसम खराब रहेकाले गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताको खोजी गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको जानकारी मुख्यमन्त्री धामीले दिएका छन्।
यसअघि परराष्ट्रमन्त्री साउदले शुक्रबार नै दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ता भएका नेपालीको खोज, उद्धार तथा राहतका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।