नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मित्र मुलुकसँग राष्ट्रिय हितसँग सम्बन्धित जायज विषय राख्न नसक्ने सरकार र सत्ताको अर्थ नहुने बताएका छन्।
पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दुई ठूला मुलुकको बीचमा नेपाल रहेको र दुबै मुलुकसँग राष्ट्रिय हितसम्बन्धी जायज मागरहरू निर्धक्क भएर राख्नुपर्ने बताए।
‘हाम्रा दुइ छिमेकी ठूला छन्, सीमानाको समस्या छिमेकीसँग हुन्छ। अर्जेन्टिना या चिलिसँग सिमानाको समस्या हुँदैन,’ उनले भने, ‘छिमेकी मित्रसँग जायज हितबारे बोलन सक्दैनौ भने त्यस्तो सरकार र सत्ताको के अर्थ भयो?’
उनले मुलुकको हितबारे कुरा राख्नै नसक्ने भए डेलिगेसन जानुको पनि अर्थ नहुने बताए। अहिले मुलुकको नेतृत्व गरिरहेकाहरूसँग राष्ट्रिय हित भन्दा सत्ता स्वार्थ प्रधान भएको पनि उनको आरोप छ।
दुई मुलुकहरूको सम्बन्ध एकअर्काको भलोकै लागि हुने उनले बताए। 'त्यसो हुँदा अरुका हित बिर्सन हुन्न। अरूको जायज हितलाई पनि ध्यान दिनुपर्छ। पारस्परिक सम्बन्ध नहेरि राष्ट्रिय हितमात्रै हेरियो भने ठिक हुँदैन,’ उनले भने।
ओलीले नेपालले असंलग्न परराष्ट्र नीतिलाई डगमगाउन दिन नहुने बताए। अन्य मुलुकहरूमा भएका विभिन्न विषयमा भारत बरू चुप लागेको तर नेपालले एउटाको पक्ष लिएर गलत गरेको उनले बताए।
‘साँढे लडेको ठाउँमा पछाडिबाट गए बाच्छाले घुँडा धसेजस्तो गर्यो। हामी तटस्थ हुँदा सबैसँग कुरा गर्न सक्छौं। आगोमा आगो थपेर आगो निभ्दैन। कुराको छेस्को थपेर कुनै काम छैन,’ उनले भने।
नेपाल कुनैपनि सुपर पावर शक्तिको पछाडि कुद्न नहुने ओलीको भनाइ छ। सैनिक गुटमा सामेल नहुने, तालिम, डेलिगेशन जाँदा पनि सो मुलुक कति संवेदनशील छ भन्ने कुरा हेक्का राख्नुपर्ने उनले बताए।
ओलीले नेपाली भूभागमा कुनैपनि प्रकारको सैन्य उपस्थिती स्वीकार्य नहुने पनि बताए।