नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय कमिटी भूमिकाविहीन भएको बताएका छन्।
राजधानीमा जारी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सापकोटाले पार्टीको स्थायी कमिटीमा सबै काम हुने बताए।
‘स्थायी समिति बहुप्रतिभाशाली, बलशाली, बाहुबली छ,’ उनले भने, ‘स्थायी समिति आफैं प्रश्न तयार पार्छ, आफैं उत्तर दिन्छ, आफैं नम्बर दिन्छ र पास दिन्छ।’
उनले केन्द्रीय सदस्यहरू भूमिकाविहीन देखिएको र तलका कार्यकर्ताले अनिच्छापूर्वक ताली बजाइरहेको टिप्पणी गरे।
नेता सापकोटाले सरकार, पार्टी र नेताहरूविरूद्ध आएका विषयको प्रतिवाद गर्न केन्द्रीय सदस्यहरूलाई आग्रह पनि गरे।
‘अहिले सरकारका कामले हामी सबैमा उर्जा आएको छ। यो उर्जा बचाएर पार्टी संगठनमा रूपान्तरण गर्ने हो भने हामी ११ लाख मत थप्न सक्छौं,’ स्थायी कमिटी सदस्यहरूप्रति लक्षित गर्दै उनले भने, ‘नेताहरूले पनि गल्ती गरेको भए त्यो छोड्नु हुँदैन। तर सरकारविरूद्ध व्यापक मोर्चाबन्दी छ। तपाईंहरू सरकारको प्रतिरक्षा गर्ने कमाण्डर बन्नुस्। तपाईंहरू अध्यक्षसँगै दौडिनुस्, दौडिनुभएन भने हामी महाधिवेशनमा ओभरट्याक गर्छाैं।’