नेकपा एकीकृत समाजवादीले निष्कासन गरेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एमाले फर्किएका छन्।
शनिबार कर्माचार्यसहित अर्का केन्द्रीय सदस्य उपेन्द्र तामाङ लगायत सिन्धुपाल्चोकका दर्जनौं नेता कार्यकर्ता एमाले फर्किएका हुन्।
दुई केन्द्रीय सदस्यसहित प्रदेश कमिटी सदस्य इश्वरीप्रसाद श्रेष्ठ, शिवराम भट्टराई, धननाथ पराजुली, जिल्ला कमिटीका उपाध्यक्ष छिरिङ ग्याल्बो लामा, सचिव दीपक नेपाल उपसचिव रविकुमार भण्डारी, जिल्ला कमिटीका सदस्यहरू, पालिका कमिटीका पदाधिकारी तथा सदस्य र विभन्न जनसंगठनमा आवद्ध नेता कार्यकर्ताहरू फर्किएको एमालेले जनाएको छ।
एमालेका सिन्धुपाल्चोक जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले सिन्धुपाल्चोकमा एमाले एक भएको दाबी गरेका छन्। ‘ समाजवादीका सबैजसो बचेखुचेका साथीहरू क्रमशः आउने अपेक्षा छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
एकीकृत समाजवादीले शुक्रबार कर्माचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
उनी सिन्धुपाल्चोकका पुराना नेतामा गनिन्छन्। चितवन सौराहामा भएको एमालेको दसौं महाधिवेशनमा कन्द्रीय कमिटी सदस्य नबनाइएको भन्दै उनी रूष्ट बनेका थिए।
एमाले विभाजन भएपछि एकीकृत समाजवादीमा लागेका उनले फेरि एमालेमै फर्किन संवाद अघि बढाएपछि एकीकृत समाजवादीको शुक्रबार बसेको सचिवालय बैठकले उनले निष्कासन गर्ने निर्णय गरेको थियो।
शनिबार सिन्धुपाल्चोकमा एमालेले आयोजना गरेको कार्यक्रममा महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बराल, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले एमाले फर्किएकाहरूलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गरे।