प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको बैठक मंगलबार पनि बस्ने भएको छ।
मंगलबार बिहान १० बजे प्रधानमन्त्री निवासमा सभामुख देवराज घिमिरेसहित कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने भएको हो।
सभामुख घिमिरेको पहलमा बसेको बैठकमा छलफल भए पनि निचोडमा पुग्न सकेन।
‘आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गम्भीरतापूर्वक छलफल गर्नुभयो। तर सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन। भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ। आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ,’ सभामुख घिमिरेले भने।
उनले सहमतिको विकल्प नरहेको पनि बताएका छन्।
‘संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन्। माननीयहरूले प्राकृतिक विपद्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। मैले अधितकतह रूपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु। म दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको छु,’ उनले भनेका छन्।
दलहरूको एकता र सहकार्यकै निम्ति आफूले सूचना टाँसेर पटक–पटक बैठक स्थगित गरेको उनले बताएका छन्।
‘तर सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन। आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं,’ उनले भनेका छन्।
सोमबारको बैठकमा सरकार पक्षले केही समय मागेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए। एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गरे पनि सत्ता पक्ष तयार भएको छैन।