उच्च अदालत पाटनले व्यापारिक कम्प्लेक्सहरूले उठाउँदै आएको पार्किङ शुल्क उठाउनबाट नरोक्न अल्पकालिन अन्तरिम आदेश दिएको छ।
सोमबार न्यायाधीश राजेन्द्र खरेलको इजलासले व्यापारिक कम्प्लेक्स भित्र रहने पार्किङ स्थलहरूमा पार्किङ शुल्क लिन हस्तक्षेप नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो।
कम्प्लेक्स डेभलपर लिजर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो।
इजलासले यस विषयमा निवेदकको निवेदनको माग बमोजिम आदेश किन जारी हुनुनपर्ने? निवेदन माग बमोजिमको आदेश जारी हुनुनपर्ने कुनै आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित सूचना म्याद पाएको मितिले १५ दिनभित्र जवाफ दिन भनेको छ।
निवेदकले यस सम्बन्धमा अन्तरिम आदेशको माग गरेका छन्। त्यस विषयमा दुबै पक्षहरूबीच छलफल गर्नुपर्ने भएकाले साउन ३० गतेका लागि पेशी समेत तोकिएको छ।
काठमाडौं महानगरपालिकाले व्यापारिक कम्प्लेक्सहरूलाई पार्किङ शुल्क नउठाउन निर्देशन दिएको थियो। त्यसरी महानगरले रोक लगाएपछि व्यापारिक कम्प्लेक्सले उच्च अदालतमा रिट दायर गरेको हो।