सदनको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
बैठक अहिले दुई बजेदेखि सुरू हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
‘सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाउनु भएको छ,’ अधिकारीले भने।
सदन खुलाउने विषयमा मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताको बैठक बसेको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षीय दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, प्रमुख सचेतक र सचेतकहरूको बैठकले कुनै निष्कर्ष दिन सकेको थिएन।
‘आजको बैठकले कुनै निष्कर्ष निकालेन। हामी फेरि छलफल गर्छौं,’ बैठकपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सेतोपाटीसँग भने।
एमाले सचेतक महेश बर्तौलाले सत्ता पक्ष कुरै नसुन्ने ‘दर्शन ढुंगा’जस्तो भएको प्रतिक्रिया दिए।
‘शून्य, आकस्मिक समयमा दलहरूलाई कुरा राख्न दिनुपर्छ। गृहमन्त्रीका कुरा हामी सुन्छौं भनेर हाम्रो कुरा राख्यौं,’ उनले भने, ‘सत्ता पक्ष सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउन तयार छैन। बरू ऊ एमालेलाई कसरी हुन्छ गलाउनेतर्फ उद्यत देखिएको छ।’
सभामुख घिमिरेका प्रेस सल्लाहका अधिकारीले पनि सदन अवरोध हट्ने सम्भावना नदेखिएको बताए।
प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो ३ बजेलाई बोलाइएको छ।
आज बोलाइएको बैठकको एमाले सांसद टोपबहादुर रायमाझी निलम्बनको सूचना सदनसमक्ष दिइनेलगायत कार्यसूची रहेको छ।