गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच ५ बुँदे सहमति भएको छ।
मंगलबार गृह मन्त्रालयमा सरकार र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो।
उक्त सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवीले हस्ताक्षर गरेका छन्।
सहमतिसँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ।
२०६३ चैत ७ गते रौतहटको गौरमा हत्या तथा घाइते भएको घटनामा परेको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी दोषीलाई कारबाही अगाडि बढाउने सहमति भएको छ।
त्यतिबेला ज्यान गुमाएर २०६५ पुस ९ गतेको बैठकले शहीद घोषणा गरिएका व्यक्तिको विवरण राजपत्रमा प्रकाशन गर्ने, त्यसमा शहीद घोषणा हुन छुटेका मृतकको हकमा शहीद घोषणाको प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ।
त्यसैगरी शहीदहरूको स्मृतिमा शहीद स्मारक स्तम्भ निर्माण पनि यही आर्थिक वर्षमा अगाडि बढाउने सहमति भएको हो।
उक्त घटनामा परेर घाइते भएका उपचाररत व्यक्तिको लागि उपचारको उचित प्रबन्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने पनि सहमति भएको गृह मन्त्रालयले जनाएको छ।
आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने भएको हो।
सो घटनाको छानबिन र कारबाहीको मागसहित गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गरेका आन्दोलनका सबै कार्यक्रम तत्काल अन्त्य गर्ने सहमति भएको हो।