चामलको कृत्रिम अभावको अनावश्यक हल्ला सृजना गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल किसान महासंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ।
मंगलबार महासंघका सदस्यहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई भेटेर चामलको कृत्रिम अभावको हल्ला सृजना गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न र आपूर्तिलाई सहज बनाउनुपर्नेमा भन्दै ज्ञापनपत्र बुझाएको हो।
त्यस्तै, महासंघले किसानहरूले उत्पादन गरेको कृषिजन्य वस्तुमा बिचौलियाको कारण उपभोक्ता र उत्पादन गर्ने किसान मारमा परेकाले बिचौलियाको पहिचान गरी नियन्त्रण गरी किसानलाई उत्पादनसहित मूल्य उपलब्ध हुने वातावरण सिर्जना गर्नुपर्ने माग राखेको छ।
त्यस्तै, देशभर फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि पहल गरी आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग राखेको अखिल नेपाल किसान महासंघ काठमाडौंका अध्यक्ष केवी घलले जानकारी दिए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ज्ञापनपत्र बुझ्दै लम्पी स्कीन राेग नियन्त्रण गर्न र आम किसानकाे समस्या हल गर्न सबै पक्ष लागिरहेकाे बताए।
‘महँगी नियन्त्रण गर्न र चामलकाे कृत्रिम अभाव हुन नदिन एकीकृत अनुगमन टाेली अनुगमन संयन्त्र तयार पारेका छाैं’, उनले भने।
त्यस्तै, महासंघले किसानहरूलाई खेती गर्दा आवश्यक पर्ने मल, बिउबिजन र प्राविधिक सहयोग उपलब्ध गराई माटोमा हुने खेती प्रणालीको पहिचान गरी उचित व्यवस्था गर्नुपर्ने माग राखेको राष्ट्रिय जनमोर्चाका बागमती प्रदेश सदस्य रोशन दानीले बताए।