राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले संसदभित्र तीन दलको गैरसंवैधानिक शक्ति केन्द्र निर्माण भइरहेको बताएका छन्।
केही दलहरूले देश र संसदलाई बन्धक बनाएको पनि उनले बताए।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लिङ्देनले भने, ‘तीन दलको बन्धक देश र संसदलाई बनाउन मिल्छ?, तपाईंहरू रातारात सल्लाह गर्ने, कुरा मिल्यो भनेपछि हामी लुरूलुरू पछि लाग्नुपर्ने?’
संसद अवरोध हटाउन सभामुख देवराज घिमिरेको पहलमा सोमबार र मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल भएको थियो।
उक्त छलफलप्रति लक्षित गर्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले तीन दलले सदन र देश बन्धक बनाउन नहुने बताए।
‘म सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु- यो गैरसंवैधानिक शक्ति केन्द्रको निर्माण यो संसदभित्र कसरी भइरहेको छ? संसदको नियमावली र संविधानको कुन धाराले तीन दलका नेता बस्ने परिकल्पना गर्छ?,’ उनले प्रश्न गरे।
उनले संसदीय समितिमा दलहरूबीच भागबन्डा मिलेका विषयबारे पनि प्रश्न उठाएका छन्। रास्वपा र राप्रपाबिनै संसदीय समिति भागबन्डा मिलेको थियो।
‘संसदीय समिति निर्माण कसरी गर्ने भन्ने नियमावलीमा उल्लेख छ। तीन दलले टुंगो लगाउने विषय होइन,’ उनले भने, ‘कसैलाई पनि निषेध गरेर जाने अहिलेको संसदीय संरचनाले कल्पना गरेको छैन र जनमतको चाहना पनि होइन, त्यो कुरा हामी स्वीकार्दैनौं।’
उनले सुन प्रकरणमा गृहमन्त्रीलगायतसँग सिआइबीले बयान लिन सक्छ कि सक्दैन भन्ने प्रश्न गरेका छन्।
‘निष्पक्षता र जनतालाई विश्वास दिलाउन पनि उच्चस्तरीय छानबिन समिति बनाउन मन्जुर हुनुस्,’ उनले भने, ‘छानबिन गर्नेबित्तिकै सरकार ढल्छ र?’
उनले संसद खोल्ने विषयमा प्रतिपक्षको भन्दा पनि सरकार पक्षकै रूची नभएको बताए।