उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौं भन्ने नभई जनताका सेवक हौं भन्ने भावले काम गर्नुपर्ने बताएका छन्।
रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्।
उपप्रधानमन्त्री खड्काले भने, ‘समय तालिका बनाउनुस्, कुन कामलाई कति समय लाग्ने हो, जनताले देख्ने गरी सार्वजनिक जानकारी दिनुस्। सरकारी निकायमा काम गर्ने कार्यालय सहयोगीदेखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नु पर्यो, तर ढिलासुस्ती गर्न पाइँदैन।’
कामका लागि निवेदन दर्तादेखि मन्त्रीको कार्यकक्षमा पुग्न नै हप्तौं दिनभन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले राजनीतिक परिवर्तन भएर मात्र नपुग्ने भन्दै कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाई निर्देशन दिए।
विकास निर्माणका काम गर्न होस वा जनतालाई दिनुपर्ने दैनिक सेवा प्रभाव सम्बन्धी विषय होस्, निर्णय प्रक्रियामा निकै ठूलो परिवर्तन आवश्यक देखिएकाले अब समय तालिका बनाएरै काम गर्नुपर्ने र समयमा तोकिएको काम नगर्ने वा गर्न नसक्नेलाई के गर्ने भन्ने विषयमा समेत निर्णय गर्न उच्च सरकारी अधिकारीहरूलाई निर्देशन दिए।
कुनै पनि सरकारी काममा ढिलासुस्ती नगर्न निर्देशन दिँदै खड्काले भने, ‘निर्णयमा अल्मलाउने, सकेसम्म ढिला गरेकोमा मजा मान्ने, सकेसम्म फाइल थन्काएर यसो एक दुई पटक हात जोडेर मेरो काम ढिला हुन थाल्यो, मेरो काम गरिदिनुस् भनेको कुरामा रमाउने जुन प्रवृत्ति छ यो मालिक प्रवृत्ति हो। हामी मलिक होइन, जनताका सेवक हौं, सेवक भएर सेवा दिनुस्।’