नेपाल विद्यार्थी संघको केन्द्रीय समितिलाई समावेशी बनाउन माग भएको छ।
सभापति शेरबहादुर देउवालाई बिहीबार त्रिवि स्ववियु कोषाध्यक्ष पद्मा भुसाल नेतृत्वको छात्राहरूको समूहले ध्यानाकर्षण पत्र बुझाउँदै नेविसंघ समावेशी बनाउन माग गरेका हुन्।
गत सोमबार बेलुकी दुजाङ शेर्पा अध्यक्ष रहेको नेविसंघलाई सभापति देउवाले ७१० जना सदस्य थप गर्दै विस्तार गरेका थिए।
‘३३ प्रतिशत छात्राको सहभागितासहित नेविसंघलाई समावेशी बनाउन निर्देशन दिन सभापतिज्यूलाई ज्ञापन पत्र बुझाएका हौं,’ भुसालले सेतोपाटीसँग भनिन्।
नेविसंघ तदर्थ समिति बनाउँदा समावेशीतालाई बेवास्ता गरिएको आरोप उनीहरूको छ।

अहिले नेविसंघ केन्द्रीय समितिमा ६ प्रतिशत मात्रै छात्रा छन्।
*शीर्षक सच्याइएको