सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले निवासबाटै पक्राउ गरेको विषयमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा छलफल भएको छ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकमा सांसद शर्मा पक्राउ भएकोबारे कुराकानी भएको थियो।
बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मालाई पक्राउ गरेको विषय जानकारीमा रहेको बताए। तर के मुद्दामा सांसद शर्मा पक्राउ परेका हुन् भन्नेबारे आफूहरूलाई जानकारी नभएको लेखकको भनाइ छ।
‘सांसद पक्राउ गर्दा तत्काल सभामुखलाई जानकारी दिनुपर्ने हुन्छ। सभामुखलाई प्रहरीले जानकारी दिएको छ कि छैन हामी बुझ्छौं। जानकारी दिएको रहेछ भने के मुद्दामा रहेछ पनि बुझ्छौं,’ प्रमुख सचेतक लेखकले भने, ‘सभामुख र प्रहरीसँग जानकारी लिएर मात्रै पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्छ।’
सांसद शर्माले के कसुर गरेका हुन् र के छानबिन हुन्छ भन्नेबारे आधिकारिक जानकारी लिएपछि मात्रै पार्टीले बोल्ने उनले बताए।
‘बैठकमा सांसद शर्मा पक्राउबारे सामान्य चर्चा भयो,’ उनले भने।
सांसद शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेपछि प्रहरी लगाएर सरकारले पक्राउ गरेको हो? भन्ने पत्रकारको प्रश्नमाथि जवाफ दिँदै लेखकले भने, ‘अनुमानका भरमा धारणा बनाउनु भएन, पक्राउ गर्दा केही आधार होलान्।’
लेखकले संसदको अवरोध हटाउनेबारे पहल भइरहेको पनि बताए। यसबारे शुक्रबार दिउँसो १ बजे बस्ने संसदीय दल बैठकमा पनि छलफल हुने उनको भनाइ छ।
मोरङ ३ बाट निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते मुद्दामा प्रहरीले पक्राउ गरेको हो। उनलाई सिआइबीको लैनचौरस्थित कार्यालयमा राखिएको छ।