विराटनगर महानगरका मेयर नागेश कोइरालालाई ‘अभद्र व्यवहार गरेको’ आरोपमा थुनामा रहेकी अभियन्ता इन्दिरा चापागाईंलाई जिल्ला प्रशासन कार्यालय मोरङले एक सय रूपैयाँ धरौटी लिएर थुनामुक्त गरेको छ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले बिहीबार उनलाई एक सय रूपैयाँ धरौटी माग गरेर थुनामुक्त गर्न आदेश दिएका हुन्।
बिहीबार जिल्ला प्रशासनको इजलासमा उनलाई अबदेखि यस्तो नगर्ने कागजमा हस्ताक्षर गराउन खोजिएको थियो। तर उनले आफूले कुनै गल्ती नगरेको बरू जेल जान तयार रहेको जवाफ दिएकी थिइन्।
शैक्षिक सुधारको माग राखेर निरन्तर अभियानमा लागेकी चापागाईंविरूद्ध मेयर कोइरालाको निर्देशनमा महानगरले उजुरी दिएको थियो।
उनलाई प्रहरीले साउन १५ मा पक्राउ गरेर थुनेको थियो। उनी पक्राउ परेयता उनका पति बिरामी भएर कोशी अस्पतालमा उपचाररत छन्।
विराटनगर–५ स्थित गोग्राहा माविमा नाफामूलक उद्देश्यबाट सञ्चालन गरिएको कलेजलाई पाँच लाख रूपैयाँ सहयोग गर्ने महानगरको निर्णयको विपक्षमा उभिएकी उनले जेठदेखि महानगरमा धर्ना दिँदै आएकी थिइन्।
प्रश्न गरेकै आधारमा शक्तिका आडमा थुनिएको भन्दै मेयर कोइरालाको सर्वत्र आलोचना भएको थियो।