प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने छलफल गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान सिंहदरबारमा उपप्रधान मन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग वैदेशिक रोजगारीको क्षेत्रमा देखापरेका समस्याबारे छलफल गरेका हुन्।
‘वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के-कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको हो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो।
छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ। यसका निम्ति साउन ३१ गते औपचारिक कार्यक्रम आयोजना गरिएको सचिवालयको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नुपरेको बताउँदै ती समस्याहरूको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्नसमेत निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न निर्देशन दिएको सचिवालयले बताए।
छलफलमा अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायतका विशिष्ट पदाधिकारीहरू सहभागी थिए।