राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँगै सत्ता पक्षका सांसदहरूले पनि उठेर विरोध जनाएका छन्।
प्रतिपक्ष र सत्ता पक्ष दुवै उठेपछि राष्ट्रिय सभाको शुक्रबारको बैठक स्थगित गरिएको छ।
सुरूमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले दलगतरूपमा सबै पार्टीका सांसदहरूलाई धारणा राख्न दिएका थिए। बैठक कार्यसूचीमा अघि बढ्ने बेलामा सांसदहरू उठेर विरोध जनाएका थिए।
त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए। त्यसपछि बैठक कार्यसूची अनुसार अगाडि बढाउन माग गर्दै सत्तापक्षका सांसदहरू पनि उठेका थिए।
सत्तापक्ष र प्रतिपक्षका सांसदहरू उठेपछि अध्यक्ष तिमिल्सिना केहीबेर अलमलमा परेका थिए। त्यसपछि उनले सांसदहरूलाई सदन सुचारू गर्न सहयोग गर्न आग्रह गरे। उनले सत्तापक्ष र प्रतिपक्ष सांसदहरूमाथि व्यंग्य समेत गरे।
‘बसौं माननीयज्यूहरू, सत्तापक्ष पनि प्रतिपक्षी पनि उठ्ने, यसलाई कसरी अघि बढाउने? सत्ता पक्ष उठेपछि प्रतिपक्षी बस्नुस्, त्यस्तो पनि भएको छ। नयाँ इतिहास हुन्छ। यस्तै मिलेर हाउसलाई अघि बढाउने न त्यो पनि राम्रो हुन्छ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘सत्ता पक्षका माननीयको प्रतिपक्षप्रति कति सद्भाव रहेछ। उहाँहरूमात्रै किन उठ्ने भनेर उहाँहरू पनि उठ्नुभएको छ। किन उठ्नु भएको भन्ने मैले बुझ्नै पाइन। उठी-उठी हाउस चलाउने नयाँ खालको अभ्यास गरौं न त!’
प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै संसद् बैठक अवरूद्ध गर्दै आएको छ।