नेपाली कांग्रेस संसदीय दलको बैठकमा संसदमा देखिएको गतिरोध अन्त्य गर्न पार्टीले पहल लिनुपर्ने आवाज उठेको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै सदन अवरोध गरिरहेको छ।
सुन प्रकरण छानबिन गर्न कांग्रेससहित सत्तापक्ष उच्चस्तरीय समिति बनाउन तयार देखिएको छैन।
नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल बैठकमा संसदको गतिरोध अन्त्य गर्न पार्टीले पहल गर्नुपर्ने सांसदहरूले माग गरेका हुन्।
सांसद प्रदीप पौडेलले लगातार संसद अवरूद्ध हुँदा जनताका कुरा सदनमा राख्न नपाइएको बताए। ‘सुन प्रकरणमा छानबिन समिति बनाउने र छानबिन समिति बन्न नदिनेबीच जुँगाको लडाइँ हुनु हुँदैन,’ सांसद पौडेलले भने, ‘सुन प्रकरण छानबिन गर्न सत्ता र प्रतिपक्ष तयार छन् तर कसरी गर्नेमा कुरा मिलेको छैन।’
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआइबीले सुन प्रकरण छानबिन गर्ने भने पनि प्रतिपक्षी एमाले विश्वस्त नभएको उनको भनाइ छ।
‘सुन प्रकरण छानबिन गर्न संसदीय छानबिन समिति बनाउने हो भने अधिकार क्षेत्रभित्र पर्ने समितिले यो काम गर्न सक्छन्। प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि समितिमा बोलाएर सोध्न सक्छन् तर यो कुरा सिआइबीले सक्दैन,’ उनले भने।
अर्का सांसद अर्जुननरसिंह केसीले सुन प्रकरण छानबिन गर्न सर्वोच्चका पूर्वप्रधान्यायाधीश वा न्यायाधीशका संयोजकत्वमा न्यायिक समिति गठन गर्न सकिने पनि बताएका छन्।
सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी एमालेले संसदलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए। ‘कति धेरै विषयमा संसदमा छलफल गर्नुपर्नेछ, तर एमालेले अनिर्णयको बन्दी बनाएको छ,’ उनले भने, ‘संसद त चल्नुपर्यो नि!’
उनले राज्यका संयन्त्रहरू सिआइबी, राजश्व अनुसन्धान, संसद र अदालतलाई अविश्वास गरेर कसलाई विश्वास गर्ने भन्ने पनि प्रश्न गरेका छन्।