भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि अवरूद्ध बनेको भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
सोमबार सुदूरपश्चिमका जनप्रतिनिधिसँग भेटेर उनले भीमदत्त राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका हुन्।
सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग केही दिनदेखि अवरूद्ध छ।
सडक अवरूद्ध बने पछि मन्त्री ज्वालाले सडक विभाग र मातहतका निकायलाई तत्काल सडक सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए। तर लगातारको वर्षाले सडक पूर्णरूपमा सञ्चालन गर्न सकिएको छैन।
सडक डिभिजन कार्यालय सडकको अवरोध हटाउन दैनिक राजमार्गमा खटिएको छ।
मन्त्री ज्वालालाई भेट्न सिंहदरबार पुगेको जनप्रतिनिधिको टोलीले भीमदत्त राजमार्गको वैकल्पिक मार्ग देवी–जोगबुढा सडक सञ्चालनमा ल्याउन माग गरेको थियो। मन्त्री ज्वालाले वैकल्पिक राजमार्ग सञ्चालनको अवस्था बुझेर अगाडि बढ्ने बताएका छन्।
प्रतिनिधि मण्डलले ८ वर्षदेखि अलपत्र परेको कञ्चनपुरको कृष्णपुर–१ ओदालखोला पुल निर्माण कार्य छिटो सक्न माग गरेको थियो। ८ वर्षअघि टेण्डर भएको तर ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै जनप्रतिनिधिको टोलीले तत्काल पुलको विषयमा टुंगो लगाउन माग गरेको थियो।
जवाफमा मन्त्री ज्वालाले पुल महाशाखासँग सल्लाह गरी निर्माण कम्पनीले निर्माण कार्य तत्काल सुरू नगरे कारबाही गर्ने चेतावनी दिएका थिए।