नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताएका छन्।
मंगलबार काठमाडौंको जोरपाटीमा बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले संसद् विघटन गरेर सही गरेको निष्कर्ष सुनाएका हुन्।
‘हामीले पुस ५ गते संसद् विघटनको सिफारिस गर्यौं। हामीले ठीक ठानेर गर्यौं। ठीक भनेर गर्यौं। ठीक थियो र गर्यौं। नगरी नहुने थियो र गर्यौं। विलकुलै समसामयिक कदम चाल्यौं,’ उनले भने, ‘यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र भएको थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौं।पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं।’
षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको बताए। उनीहरूलाई पहिल्यैदेखि प्रतिनिधि सभा भंग हुने डर रहेको पनि अध्यक्ष ओलीले बताए।
प्रतिनिधि सभा पुनःस्थापना हुँदा पनि केही नबिग्रिएको र संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउने प्रयास विफल बनाइएको ओलीको दाबी थियो।
‘संगठन, वामपन्थी आन्दोलन ध्वस्त बनाउन कुसुलेहरूले पुतली नचाइरहेका थिए। ती कुसुलेहरूलाई पनि बडा धक्का पर्यो,’ उनले भने।
नेकपा विग्रह उत्कर्षमा पुगेपछि २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक संसद् विघटन सिफारिस गरेका थिए। तर, अदाललते असंवैधानिक ठहर गर्दै फागुन ११ गते पुनःस्थापना गरेको थियो।
ओलीले २०७८ जेठमा पनि संसद् विघटनको सिफारिस गरेका थिए। त्यसलाई पनि अदालतलाई उल्ट्याउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश दिएको थियो।
ओलीले संसद् विघटन विघटन, राजनीतिक, संसदीय र संवैधानिक कदम भएको ओलीको जिकिर गरेका हुन्।