रूपन्देही क्षेत्र नम्बर ५ मा आइतबार आयोजित नेपाली कांग्रेसको एक कार्यक्रममा नेताहरूबीच मञ्चमै मुखामुख भएको छ।
सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने भरतकुमार शाहले महासमिति सदस्य फखरूद्दीन खानलाई लक्षित गर्दै 'तपाईंजस्ता मान्छे कांग्रेसमा धेरै आए' भनेपछि विवाद उत्पन्न भएको थियो।
शाहले यस्तो भन्दै गर्दा मञ्चमै रहेका खानले उठेर प्रतिवाद गरेका थिए।
कार्यक्रममा खानले पहिले बोलेका थिए। उनीपछि बोल्न आएका शाहले भने, 'नेपाली कांग्रेस बुझ्न समय लाग्छ। कांग्रेस त्यत्तिकै बुझिँदैन। तपाईंजस्ता मान्छे धेरै आइसके। मसिना बाबा हुनुहुन्थ्यो, जोतेन्द्रमोहन चौधरी हुनुहुन्थ्यो, छविलाल भुसाल हुनुहुन्थ्यो। उनीहरू कहाँ गए? रामनारायण यादव यहीँ हुनुहुन्छ, उहाँ पनि २०४८ सालबाट कांग्रेसमा हुनुहुन्छ।'
शाहले यति भनेपछि खान उठेर 'तपाईंले भन्न के खोज्नुभएको' भन्दै थर्काएको हामीलाई प्राप्त भिडिओमा देखिन्छ।
शाह गएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ५ मा पराजित भएका थिए भने खान क्षेत्र नम्बर ५ 'ख' बाट प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए।
कांग्रेस महासमिति सदस्य फखरूद्दीन खानले भने केही असमझदारीका कारण यस्तो घटना भएको बताए।
'यो सामान्य र आन्तरिक घटना हो, यसलाई अगाडि नबढाऔं भन्ने समझदारी भएको छ,' खानले भने।