सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल हुँदै छ।
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच बालुवाटारमा अहिले बिहान ९ बजे छलफल हुन लागेको हो।
‘सदनको अवरोध खुलाउने विषयमा सम्माननीय सभामुख देवराज घिमिरेले अहिले बिहान ९ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरकारी निवास बालुवाटारमा छलफल गर्दै हुनुहुन्छ,’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने, ‘सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसक्नुभएको छ।’
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट ब्रेक सुभित्र सुन लुकाएर ल्याएको अवस्थामा बरामद भएपछि त्यसो प्रकरणको उच्चस्तरीय समिति बनाएर छानबिनको माग गरेको छ।
उसले साउन १० गतेदेखि संसद् अवरूद्ध गर्दै न्यायिक जाँचबुझ समितिको माग गरिरहेको छ। तर, सरकारले राज्यका निकायले जाँचबुझ गरिरहेकाले यसैलाई विश्वास गर्नुपर्ने अडान राख्दै आएको छ। सत्ता र प्रमुख प्रतिपक्ष अडानमा यथावत् रहँदा संसद् नियमित कार्यसूचीमा अघि बढ्न सकेको छैन।