प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका बेला ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुने विश्वास लिएको बताएका छन्।
विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उनले चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दूरगामी सम्झौताको सम्भावना देखाएका हुन्।
प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाँदै छन्। उनी न्युयोर्कबाट असोज ४ गते चीनको भ्रमणमा जाने तय भएको छ।
‘हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे-केरूङ २२० केभी प्रसारण लाइन निर्माणमार्फत् जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौं। मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु,’ उनले भने।
हाल करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्याइने प्रधानमन्त्री प्रचण्डले बताए।
१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको सन्दर्भलाई दक्षिण एसियामै विद्युत व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रूपमा हेरिएको छ। यसबाट नेपालमा जलविद्युत लगानीको थप उपयुक्त वातावरण निर्माण भएको छ भने दीर्घकालिन विद्युत व्यापारका लागि स्वदेशी तथा अन्तरदेशीय प्रसारण संरचनाको तयारी पूरा गर्न एवं विश्वसनीय कार्ययोजना तर्जुमा गर्न हौसलाका साथ सम्बन्धित मन्त्रालय र सबै सरोकारवाला निकायहरूको समन्वयपूर्ण योगदान आवश्यक रहन्छ,’ उनले भने।
भारतसँगको समझदारीलाई मूर्तरूप दिन नेपालका सम्बन्धित निकायहरू भारतीय पक्षसँग पनि लगातार सम्पर्क र समन्वयमा रहेको उनले बताए। त्यसका लागि अपरिहार्य रहेको अन्तरदेशीय प्रसारण संरचनाहरूको योजना र निर्माणमा दुबै देशका तर्फबाट आवश्यक कार्यहरूले गति लिन थालिसकेको प्रधानमन्त्रीको भनाइ छ।
‘बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन निकट भविष्यमै निर्माणको चरणमा जानेगरी नेपाल र भारत दुबैतर्फ आवश्यक कार्यहरू अघि बढाइएको छ। थप दुई नेपाल-भारत ४०० केभी प्रसारण लाइनहरू इनरुवा-पूर्णिया र दोधारा-बरेलीको निर्माण प्रारूप आगामी २ महिनाभित्र उर्जा सचिवस्तरीय संयन्त्रमार्फत सहमतिमा पुर्याउन मैले आवश्यक निर्देशन दिइसकेको छु,’ उनले भने, ‘यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ र अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल-बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको छ।’