ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोककुमार मण्डल माओवादीको केन्द्रीय समितिमा थपिएका छन्।
गौतमले कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्री बनेकाले उनलाई केन्द्रीय कमिटीमा पुनः ल्याइएको पार्टी महासचिव देव गुरूङले जानकारी दिए।
मण्डल पनि गत प्रतिनिधि सभा निर्वाचनमा सप्तरी-१ बाट बागी उम्मेदवारी दिएपछि अनुशासनको कारबाहीमा परेका थिए। कारबाही फुकुवा भएपछि स्वतः केन्द्रीय सदस्य भएको महासचिव गुरूङले बताए।
‘बाबुराम गौतम सभामुख हुनुहुन्थ्यो। त्यही कारण केन्द्रीय कमिटीमा रहनु भएको थिएन। अहिले सभामुख छाडेपछि स्वतः हुने कुरा भइहाल्यो। अर्का केन्द्रीय सदस्य अशोककुमार मण्डलको कारबाही फुकुवा भएको हो,’ उनले भने।
योसँगै माओवादी केन्द्रीय कमिटी ४ सय ११ सदस्यीय भएको छ।