नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट डिस्चार्ज भएका छन्।
उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए।
उनको बुधबार शल्यक्रिया गरिएको थियो। भण्डारीका स्वकीय सचिव बोधराज कँडेलका अनुसार जलन भएको दाहिने हात लगायतमा शल्यक्रिया गरी नयाँ छाला राखिएको छ। यसका लागि क्यानडाबाट एक जना डाक्टर पनि आएका थिए।
निवास बुद्धनगरमा गत फागुन ३ गते बेलुकी आगलागी हुँदा चन्द्र र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा हरिकलाको गत फागुन ४ गते कीर्तिपुरस्थित अस्पतालमा निधन भएको थियो।
सोही दिन थप उपचारका लागि सांसद भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न अस्पताल लगिएको थियो।
करिब तीन महिना उपचारपछि भण्डारी गत वैशाख १७ गते स्वेदश फर्किएका थिए। उनी गत जेठ १० गतेदेखि प्रतिनिधि सभा बैठकमा सहभागीसमेत भइरहेका छन्।