नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी दुई केन्द्रीय सदस्य पदमुक्त भएको र चार जनाले बिदा लिएको बताएको छ।
एमालेले पार्टी सचिवालयको निर्णय लागु गर्न मातहतका कमिटीमा पठाइएको अपानिमा काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापित र सिराहका प्रमोदनारायण यादवले केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग हुन चाहेकाले पदमुक्त गरेको बताएको छ।
केही दिनअघि सेतोपाटीसँग कुराकानी गर्दै स्थापितले अध्ययन—अनुसन्धानका लागि समय अपुग भएकाले जिम्मेवारीबाट अलग हुन चाहेको बताएका थिए।
नयाँ—नयाँ काम गर्न पार्टीको जिम्मेवारीमा नरहने निष्कर्षमा पुगेको उनको भनाइ थियो।
त्यस्तै, एमालेले अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिएको उसले बताएको छ।
उनीहरूले स्वास्थ्यका कारण पार्टीका सक्रिय हुन नसकेको जानकारी गराएर बिदा माग गरेकाले सोही अनुरूप स्वीकृत गरिएको बताएको छ।
एमालेले लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरूको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने बताएको छ।
गत सोमबार बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने निर्णय गरेको थियो। उनी पनि दसौं महाधिवेशन पनि सक्रिय छैनन्। उनले पनि पार्टीमा फर्कने मुड नरहेको बताउँदै आएका छन्।
अपानिमा यसबारे केही खुलाइएको छैन। अर्को बैठकले निर्णय गर्ने मात्रै भनिएको छ।